काठमाडौं । जेनजी अभियान्ता रक्षा बमले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन अपरिहार्य रहेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा ‘कांग्रेसीजन’हरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनेकी छन्–‘आजको असाधारण राजनीतिक संकटमा असाधारण निर्णय आवश्यक छ, र त्यसका लागि विशेष महाधिवेशन अपरिहार्य छ। तपाईंहरूको आजको यात्राले नै तपाईंहरूको गन्तव्य तय गर्नेछ।’ रक्षा बमले कांग्रेसभित्रका जेनजीका अवाजहरुलाई निस्तेज पार्न खोजेको पनि आरोप लगाएकी छन् ।
महाधिवेशनको मिति सार्वजनिक भइसक्दा समेत विशेष महाधिवेशनको माग गर्दै आएका महामन्त्री गगन थापालाई भेटेको केही दिन पछि बमले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेकी हुन् । बमलगायत जेनजी अभियान्ताहरुले पुस १८ गते गगन थापासँग भेट गरेका थिए ।
लामो समयदेखि जनताले राज्य र राज्य सञ्चालकहरूबाट जबरजस्ती बेहोर्नुपरेको बेथिति, अकर्मण्यता र निराशाको परिणाम नै भदौ २३ भएको बताउँदै उनले जनताले तत्कालीन अवस्थामा भोगिरहेको स्वेच्छाचारिताको हिस्सेदार नेपाली काँग्रेस पनि भएको बताएकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्–‘यतिखेर तपाईंहरू आफ्नै पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा दुई खेमामा बाँडिनुभएको छ। हामी स्पष्ट छौँ, तपाईंहरू जो नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोजिरहनुभएको छ, तपाईंहरूले हाम्रो आन्दोलनलाई नै अस्वीकार गरिरहनुभएको छ। भदौ २३ मा काँग्रेसभित्रकै जेनजीका साथीहरु पनि परिवर्तनको माग गर्दै सडकमा उत्रिनुभएको थियो।उहाँहरू आज पनि परिवर्तनको पक्षमा बोलिरहनु भएकै छ र तपाईंहरूले त्यो आवाज पनि निस्तेज पार्न खोजेको जस्तो देखिन्छ।’