काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभामा गठबन्धन नगरी जित्न नसिकने निष्कर्ष निकालेको छ ।
आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सो कुरा बताएका हुन् ।
उनले आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर जाने या के गर्ने भन्ने विषयमा कुराकानी भएको बताउँदै अन्य दलहरुसँग वार्ता भने भइरहेको जानकारी गराए ।
महतले भने- 'राष्ट्रिय सभामा तालमेल नगरी परिणाम आउँदैन । सबै दलसँग कुराकानी गरौँ उनीहरुको आशय के छ, केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा ल्याउँ अनि छलफल गरौँ भन्ने कुरा भइरहेको छ।'
आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ । त्यसका लागि पूराना दलहरु एक भएर सिट बाँडफाँड गर्नेगरी अघि बढेका छन् ।
आइतबार आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेसहितसँग तालमेल गरेर जाने विषयमा कांग्रेसको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले एमालेका महासचिव शंकर पोखरेलसँग छलफल गरेका थिए।
त्यस्तै एमाले र कांग्रेसका नेताहरूबीच आज साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा पुनस् छलफल हुँदैछ । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ ।