जुम्ला । मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटना हुँदा एकजना अमलदारको मृत्यु भएको छ । हनुमान ध्वज गुल्म हुटुबाट रारादेखि भुलभुलेसम्म सैनिक पुर्याएर फर्किँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको हो ।
मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार दुर्घटनामा परी हनुमान ध्वज गुल्मका अमलदार चालक हरिसिंह ऐडीको मृत्यु भएको हो। बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भएका ऐडीलाई मुगु अस्पतालले बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो।
न १ झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका–७ स्थित पिना प्रहरी चौकीदेखि अगाडि पर्ने आलादुना खोलाको मोडमा दुर्घटनामा परेको हो ।
आइतबार साँझ ७ बजेर ७ मिनेटमा दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो ।
प्रहरीका अनुसार बोलेरो सडकबाट करिब २ सय मिटर तल खसेको थियो। गम्भीर घाइते भएका चालक ऐडीलाई राति १० बजे मुगु अस्पताल पुर्याइएको भए पनि उपचारका क्रममा बचाउन नसकिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । मृतक ऐडीको शव पोस्टमार्टमको तयारी भइरहेको छ ।