Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जुरीखेत सुमो दुर्घटना : मृतक मध्ये ४ जनाको पहिचान खुल्यो, दुई अझै अज्ञात

जुरीखेत सुमो दुर्घटना : मृतक मध्ये ४ जनाको पहिचान खुल्यो, दुई अझै अज्ञात

सोमवार , पौष २१, २०८२

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा आइतबार साँझ टाटा सुमो दुर्घटना हुँदा ज्यान गुमाउनेमध्ये अहिलेसम्म चार जनाको मात्र पहिचान खुलेको छ।

दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ ज १७७८ नम्बरको टाटा सुमो सडकबाट करिब एक सय मिटर तल खोल्सामा खस्दा सुमोमा सवार यात्रुहरू गम्भीर घाइते भएका थिए ।

घाइते ९ जनाको उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याइएकामा उपचारका क्रममा चिकित्सकले ६ जनालाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार पहिचान खुलेका मृतकहरूमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने ४० वर्षीया सबिता लम्साल, हेटौँडा–२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्य बेगुसराईका करिब ५० वर्षीय अरबिन्द कुमार र भारतकै बिहार राज्य पटना घर भएका ४२ वर्षीय रजनीस कुमार रहेका छन्।

दुर्घटनामा ज्यान गुमाएका अन्य दुई जना पुरुषको भने अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनीहरूको उमेर अन्दाजी ३६ र ४० वर्ष रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये सुमो चालक गणेश थापा र १२ वर्षीय अभ्यास लम्सालको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ।

अन्य एक घाइते २१ वर्षीया रिचा चौधरीको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्त कुमार श्रेष्ठको कमाण्डमा ट्राफिकसहित १० जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी र स्थानीयको सहयोगमा सुमोमा सवार यात्रुहरूको उद्धार गरिएको हो।

दुर्घटनापछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा समेत घटनास्थल तथा अस्पताल पुगेका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077