ओखलढुंगा । ओखलढुंगामा शृंखलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोह पक्राउ परेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त अनुसन्धान टोलीले तीन महिनायता दुईवटा छुट्टाछुट्टै घटनामा तीन जनाको वीभत्स हत्या गर्ने चार जनाको गिरोहलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३ का २८ वर्षीय मिलन (संगम) राई, सोही गाउँपालिका–४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर ८, माम्खा बस्ने ३० वर्षीय दोर्जे (अशोक) भुजेल रहेका छन् । विनोद राई शुक्रबार पक्राउ परेका थिए भने बाँकी ३ जनालाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएपी मदन केशीले जानकारी दिए ।
गिरोहले पुस १५ गते राति ओखलढुंगा चिशंखुगढी–६, भदौरे गैरीगाउँस्थित किराना पसल सञ्चालन गर्ने दम्पती ६० वर्षीय शोभितमान थापा मगर र ६० वर्षीय रत्नमाया थापा मगरको दाहिने कान र कन्चटमा धारिलो हतियारले वीभत्स हत्या गरेको थियो।
हत्यापछि उनीहरूले पसल तथा कोठाबाट करिब १ लाख नगद, २ तोला सुनको गरगहना र ६ तोला काँचो सुन लुटेका थिए।
प्रारम्भिक सोधपुछमा उनीहरूले तीन महिनाअघि ओखलढुंगा सिद्धिचरण–४, चार्खुमा ५२ वर्षीया रत्न कुमारी कटवालको हत्या र लुटपाटमा पनि संलग्न रहेको खुल्न आएको छ।
कटवाललाई बन्चरोले कन्चट र कानमा प्रहार गरी हत्या गरिएको थियो। घटनास्थलबाट बरामद सामग्रीमा बन्चरो, सुनबाट बनेको रिङ, रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र मोबाइलहरू समावेश छन्।
प्रहरीका अनुसार गिरोहको मुख्य उद्देश्य धनमाल लुट्नु र घरमा एकल वा बुढाबुढी रहेका व्यक्तिलाई लक्षित गर्नु थियो। उनीहरू मादक पदार्थ सेवन गर्ने र आर्थिक अवस्था कमजोर रहेका पाइएका छन्। अनुसन्धान टोलीले गिरोहले अन्य घटना घटाउने तयारी पनि गरेको आशंका गरेको छ ।
चार्खु घटनामा लुटिएको सुन फेला परेको छ भने भदौरे घटनाको धनमाल पहिचान हुने प्रहरीले जनाएको छ । अभियुक्तहरूबाट २ थान भरुवा बन्दुकसमेत बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ ।