काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित विषयमा बयानका लागि जाँचबुझ आयोगले औपचारिक रूपमा पत्र काटेको छ।
आयोगका स्रोतका अनुसार अध्यक्ष ओलीलाई आयोगमा उपस्थित भएर बयान दिन बोलाउँदै आइतबार नै पत्र पठाइसकिएको हो।
आयोगले यसअघि सो घटनासँग सम्बन्धित ओलीबाहेक प्रायः सबै सरोकारवालाको बयान लिइसकेको बताइएको छ।
यद्यपि अध्यक्ष ओलीले भने यसअघि नै जाँचबुझ आयोगमा नजाने सार्वजनिक अडान व्यक्त गरिसकेका छन्।
आयोगको पत्रपछि पनि उनी आफ्नो अडानमै कायम रहने वा उपस्थित हुने भन्ने विषयले राजनीतिक वृत्तमा चासो र तरंग पैदा गरेको छ।
पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गरिरहेको छ।
सुरुमा तीन महिनाको समयावधि पाएको आयोगको म्याद एक महिना थप गरी माघ ९ गतेसम्म पुर्याइएको छ।