काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदो वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरि नयाँ कार्यतालिका प्रस्ताव पारित गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा आउँदो वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमत सदस्यको समर्थनमा पारित भएको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘पुसमा प्रस्ताव गरेको १५औं महाधिवेशन विभिन्न समस्याका कारण हुन नसक्दा कार्यतालिका परिमार्जनसहित पारित गरेका छौँ । बैठकले आउँदो वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।’
यद्यपि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने भन्दै १४औँ महाधिवेशनका प्रतिनिधिलाई तयारीमा बस्न आग्रह गरे । यस्तै बैठकले पार्टी केन्द्रीय कार्यसमितिको म्याद आउँदो जेठ मसान्तसम्म थप गरेको छ ।