काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी वैशाखमा पार्टीको महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।
सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति खड्काले २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
यसअघि मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले पुस २६/२८ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयअनुसारको महाधिवेशन तालिका प्रभावित भइसकेपछि अहिले पुनस् नियमित महाधिवेशनको नयाँ मिति प्रस्ताव गरिएको छ ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन पुसभित्रै गर्नुपर्ने अडानमा रहेका छन् ।
बिहीबार साँझ दुई महामन्त्रीले संयुक्त वक्तव्य जारी गरेर विशेष महाधिवेशनको विकल्प नभएको बताएपछि कार्यवाहक सभापति खड्काले कार्यसम्पादन समितिको बैठक बोलाएका थिए ।
पुस २६ गतेदेखि तोकिएको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि कांग्रेसमा चर्को विवाद छ। पार्टीभित्रको यो विवादले आगामी निर्वाचनअघि कांग्रेसको नेतृत्व र रणनीतिमा प्रभाव पार्ने देखिन्छ ।