काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा अपरान्ह ३ बजेका लागि बैठक बोलाइएको बैठक २ घण्टा ढिला गरी सुरु भएको हो ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए । महाधिवेशनसम्बन्धी जारी विवादका बीच यो बैठक महत्वपूर्ण मानिएको छ ।
यसै सन्दर्भमा सभापति शेरबहादुर देउवा पक्षबाट कार्यसम्पादन समिति बैठक बोलाइएको हो । बैठकअघि दुवै पक्षका नेताहरूले आन्तरिक छलफल गरेका थिए ।
संस्थापन पक्षले महामन्त्रीहरूको उक्त निर्णयले पार्टी विभाजनसम्म जाने धारणा राखेका छन् भने विशेष महाधिवेशन पक्षधरहरूले विधान रक्षा गर्न विशेष अधिवेशन आवश्यक रहेको तर्क गरिरहेका छन् ।
बैठकमा कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।