काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ ।
संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी पनि महाधिवेशन गर्नैपर्ने दबाब बढाएसँगै कांग्रेस विभाजनको बाटोमा पुगेको हो ।
गत १५ मंसिरमा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशन आगामी २६–२८ पुसमा काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।
एक महिनाबढी समयसम्म चलेको सो बैठकमा ‘महाधिवेशन कहिले गर्ने ?’ भन्ने विषयमा चर्को विवाद भएको थियो । विवाद साम्य पार्दै नेताहरूले नियमित महाधिवेशन मिति टुंगो लगाएका थिए ।
तर, तोकिएकै मितिमा महाधिवेशन नहुने भएपछि विशेष महाविधेशनका माग चर्किंदै जाँदा पार्टी नै विभाजन हुने डिलमा पुगेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्ष नियमित महाधिवेशन २१ फागुनको निर्वाचनपछि गर्ने रणनीतिमा छ ।
महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका संस्थापनइतरका नेता नियमित महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने पक्षमा छन् । तर, नियमित महाधिवेशन तोकिएकै मितिमा हुने नदेखिएपछि थापा–शर्मा समूह विशेष महाधिवेशन गर्नुपर्र्ने रणनीतिसाथ अगाडि बढेको छ ।
महामन्त्रीद्वयले बिहीबार संयुक्त विज्ञप्ति नै जारी गरेर ‘आगामी २७ पुसदेखि तोकिएको नियमित महाधिवेशन स्थगन’ घोषणा गरेर विशेष महाधिवेशन तयारी थालेका छन् । राजधानी दैनिकबाट