लमजुङ । कास्की कारागारबाट फरार भएका दुई जना कैदीलाई प्रहरीले लमजुङबाट पक्राउ गरेको छ। गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका प्रतिवादीहरू लमजुङमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बेँसीसहर नगरपालिका–१०, खासुरबेँसी निवासी ३५ वर्षीय टेकबहादुर गुरुङ र दोर्दी गाउँपालिका–४, कुप्लिङ निवासी २८ वर्षीय कुमार विक रहेका छन्। गुरुङ चोरी मुद्दा र विक ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कास्की कारागार पठाइएको छ।
यसअघि जिल्ला कारागार लमजुङको भवन अत्यधिक जीर्ण अवस्थामा पुगेपछि यहाँ रहेका कैदी तथा थुनुवाहरूलाई तनहुँको दमौली कारागार र कास्की कारागारमा स्थानान्तरण गरिएको थियो।
प्रहरीका अनुसार हालसम्म ४८ जना फरार कैदीबन्दी पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइसकिएको छ भने अन्य फरारको खोजी कार्य अझै जारी छ।