काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनतर्फ अघि बढिएको स्पष्ट पारेका छन् ।
महामन्त्रीद्वयले संयुक्त हस्ताक्षरमा जारी गरेको विज्ञप्तिमा नियमित महाधिवेशनको कार्यतालिका आगामी केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गर्ने गरी सूचनामार्फत नै स्थगित गरिएको उल्लेख गरेका छन् ।
विज्ञप्तिको शीर्षकमा नै ‘नियमित महाधिवेशन स्थगन÷ विकल्प विशेष महाधिवेशन’ उल्लेख गरिएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो।
तर क्रियाशील सदस्यताको काम समयमै सम्पन्न नहुँदा उक्त महाधिवेशन निर्धारित मितिमा हुन नसक्ने अवस्था सिर्जना भएको महामन्त्रीहरूले बताएका छन्।
विज्ञप्तिमा नियमित महाधिवेशनको कार्यतालिका स्थगित भए पनि क्रियाशील सदस्यता इन्ट्रीको काम निरन्तर जारी राख्न निर्देशन दिइएको छ।
यस्तै महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनलाई ‘वैधानिक दायित्व’ भन्दै नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था आएपछि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको स्पष्ट पारेका छन्।
‘पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त जिम्मेवारीअन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिका आधारमा अगाडि बढाइनेछ।’
