काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गरेको छ ।
आयोगको आज बसेको बैठकले लेखकका लागि तोकेको स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो ।
आयोगले लेखकसँग पुस १४ र १६ गते गरी दुई पटक छुट्टाछुट्टै बयान लिएको थियो । आयोगले लेखकको बयान सकिएको भन्दै स्थान हद फुकुवा गरेको हो ।
यसअघि अनुसन्धानको सिलसिलामा आयोगले असोज १२ गते लेखकलाई आयोगको अनुमतिबिना उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाउने निर्णय गरेको थियो।
घटनाको छानबिनका क्रममा आवश्यक कार्य सम्पन्न भइसकेकाले उक्त प्रतिबन्ध हटाउने निर्णय भएको आयोगकी शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
यसअघि सो घटनासँग सम्बन्धित नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौंका तत्कालीन सीडीओ, तत्कालीन गृहसचिव लगायतको स्थान हद फुकुवा गरिएको थियो ।
आयोगले लेखकको भ्रमण र स्थानहद फुकुवा गरेको निर्णय प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतका सम्बन्धित निकायमा जानकारी गराएको छ ।
यस निर्णयको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र सम्बन्धित व्यक्ति रमेश लेखकलाई समेत पठाइएको छ।
जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको जाँचबुझ गरिरहेको यस आयोगले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको जानकारी दिएको थियो ।