काठमाडौं । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा खुलेकी जेनजी आन्दोलनकी अगुवा रक्षा बमले पार्टीको समानुपातिक उम्मेदवार बन्दसूचीप्रति तीव्र असन्तुष्टि जनाएकी छन् ।
मंगलबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले समानुपातिक सूची देखेर आफू अत्यन्त खिन्न भएको बताएकी हुन् ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा सभापति रवि लामिछानेको गृहजिल्ला चितवनबाट मात्रै २१ जना उम्मेदवार समेटिएको र सुदूरपश्चिमबाट दुई जनामात्रै परेकाप्रति उनले गम्भीर आपत्ति जनाइन्।
उनले संविधानले व्यवस्था गरेको समानुपातिक प्रतिनिधित्व प्रणालीको मर्म नै दलहरूले तोडेको आरोप लगाइन्।
‘सदियौँदेखि पछाडि पारिएका समुदाय, पछाडि पारिएका भूगोल र उनीहरूको आवाज संसदमा पुर्याउने उद्देश्यले समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो,’ रक्षाले लेखेकी छन्, ‘तर दुःखद कुरा के छ भने हजारौँको बलिदानबाट प्राप्त यही प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन्। आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन्।’
रक्षाले आफूले रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङलाई एकै ठाउँमा ल्याउन भूमिका खेलेको स्मरण गराउँदै उनीहरूको कार्यशैलीप्रति समेत तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्। यद्यपि, उनले आफ्नो टिप्पणीमा रास्वपा वा उसका नेताहरूको नाम भने स्पष्ट रूपमा उल्लेख गरेकी छैनन्।
सुदूरपश्चिमको लामो समयदेखिको उपेक्षामाथि प्रश्न उठाउँदै उनले लेखेकी छन्, ‘मेरो सुदूर अझै पनि सुदूर नै छ। त्यहाँका मानिस, त्यहाँका समुदाय र राजधानीबाट वर्षौँदेखि अपहेलित एउटा भूगोल पनि यो देशको मानचित्रमा पर्छ भन्ने कुरा सबैले बिर्सिएका छन्।’
उनले थप लेखेकी छन्, ‘यो देशको सत्तालाई सम्झाउनै पर्नेछ कि सुदूर पनि यही देशको मानचित्रमा पर्छ।’ बालेन शाह रास्वपामा समाहित हुँदा जेनजी समूहहरूबीच समन्वय गराउने जिम्मेवारी आफैँलाई दिइएको स्मरण गराउँदै रक्षाले समानुपातिक सूचीले आफ्नो विश्वासमा गम्भीर चोट पुगेको संकेत गरेकी छन्।
रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा सुदूरपश्चिम प्रदेशबाट न्यून सहभागिता रहेको देखिएको छ । रास्वपाको ११० जनाको सूचीमा सुदूरपश्चिम ठेगाना भएका २ जनाको मात्रै नाम रहेको छ।