Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युवा पुस्ताको आन्दोलन हाइज्याक भएको रमेश लेखकको दाबी

युवा पुस्ताको आन्दोलन हाइज्याक भएको रमेश लेखकको दाबी

सोमवार , पौष १४, २०८२

काठमाडौं । भदौ २३ गते भएको जेनजी आन्दोलनपछि गृहमन्त्रीबाट राजीनामा दिएका नेपाली कांग्रेसका नेता रमेश लेखकले युवा पुस्ताको आन्दोलन हाइज्याक भएको दावी गरेका छन् ।

जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगमा आज उपस्थित भएर लिखित बयान दिंदै उनले भदौ २३ र २४ को घटनामा जे भयो त्यो दुःखद रहेको भन्दै युवा पुस्ताको आन्दोलन हाइज्याक भएको दाबी गरेका हुन्।

उनले पहिलो दिनको आन्दोलनमा व्यक्तिको मृत्यु हुनेगरी बल प्रयोग नगर्न निर्देशन दिएको र सुरक्षाकर्मीले अवस्था हेरेर बल प्रयोग गर्दा भएको घटनाको नैतिक जिम्मेवारी लिएर गृहमन्त्री पदबाट राजीनामा दिएको लिखित बयानमा उल्लेख गरेका छन्।

उनले बयानमा भनेका छन्–‘नेपाल र नेपालीलाई मर्माहत बनाउने गरी २०८२ भदौ २३ र २४ गते अत्यन्त दुःखद र अकल्पनीय घटना भए। भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने, सुशासन कायम हुनुपर्ने तथा सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाई निर्वाध सञ्चालन गरिनु पर्ने माग राखेर भदौ २३ गते जेन(जी समूहका भाइ बहिनीहरुले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएर त्यसले हिंसात्मक र उग्र रुप लियो।

यस घटनामा होनाहार युवाहरुले ज्यान गुमाउनु पर्यो। त्यो हृदयविदारक घटनामा ज्यान गुमाउनु हुने सबैका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। उक्त घटनामा परी घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

जेनजी समूहले भदौ २३ गते प्रदर्शन गर्दैछ भन्ने पूर्व जानकारी गृह प्रशासन र सुरक्षा संयन्त्रबाट पहिले नै आफूले पाएको बताएका उनले तत्कालीन गृहमन्त्रीको हैसियतमा २२ गते साँझ ६ बजे मैले मन्त्रालयमा आफू स्वयै अध्यक्ष भएको केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको पनि बताएका छन् ।

बयानमा उनले भनेका छन्–‘केन्द्रीय सुरक्षा समितिको बैठकमा आवश्यकता भन्दा बढी बल प्रयोग गर्ने कुनै निर्णय वा योजना भएको छैन। त्यसो गर्ने न कानूनी व्यवस्था छ, नत अभ्यास नै छ। सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रष्ट रुपमा दुई तीन कुरा भनेको थिएँ।’

‘पहिलो, कुनै हताहति (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस्। यसबारेमा सचेत रहनु होला, सावधानी अपनाउनु होला। दोस्रो, समन्वयात्मक रुपमा शान्ति सुरक्षाको उचित प्रवन्ध मिलाउनु होला। तेस्रो, यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्व विहीन हुन सक्छ। प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, शतर्कता अपनाउनु होला। मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो।

यस बिषयमा सरकार प्रमुखसँग पनि परामर्श गर्नु उचित हुन्छ भनेर मैले बैठक गर्नु अघि नै प्रधानमन्त्रीको समय लिएको थिएँ। बैठक सकिनासाथ सिंहदरवारबाट हामी सिधै बालुवाटार गयौं। काठमाडौंका प्रमुख जिल्ला अधिकारी र काठमाडौं प्रहरी परिसरका प्रमुखलाई भोलीको सुरक्षा व्यवस्थाको तयारीमा लाग्न भनेर बालुवाटार लगिएन।’ बयनमा थप भनिएको छ ।

उनले जेनजी आनदोलनमा भएका घटनाबारे छानबिन गर्न बनेको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकारी नपाएको पनि बताएका छन् ।
सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै लेखकले आफूमाथि कुन कानुनअनुसार कुन प्रयोजनका लागि र कति समय स्थानहद गरिएको हो भन्नेबारे अहिलेसम्म जानकारी नपाएको बताए ।

उनले भने–‘संविधान, कानुनबमोजिम के कारणले कुन प्रयोजनका लागि कति समय स्थानहद गरिएको हो,’ लेखकले भने, ‘त्यो मैले जानकारी पाउनु पर्ने हो । तर अहिलेसम्म जानकारी पाएको छैन ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077