काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण प्रक्रिया पुनः सुरु गरेको छ ।
मंसिर मसान्तभित्र यो काम पूरा हुने भनिए पनि समयाभावका कारण नसकिएकोले थप समय दिइएको हो ।
पार्टी केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले नवीकरणका लागि मंसिर २४ गतेसम्मको समय दिएको थियो । त्यो समयमा नसकिने भएपछि क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजकका हैसियतमा महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको निर्णय परिवर्तन गरेर मंसिर मसान्तसम्म सक्ने निर्णय गरेका थिए ।
तर, त्यो समय सकिएको ७ दिनपछि सोमबार राति बसेको समितिको बैठकले ९ दिन अर्थात पुस ९ गतेसम्म थप गर्ने सहमति भएको हो ।
महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले भोलि दिउँसो १२ बजे वितरण प्रणाली लक गर्ने तयारी गरेको छ ।
नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म आफ्नो महाधिवेशन गर्ने निर्णय गरेको छ ।