काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगमा कुनै हालतमा बयान नदिने अडान पुनः दोहोर्याएका छन् ।
हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट लगातार तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित ओलीले आइतबार राति हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा निमेष बन्जाडेलासँग अन्तर्वार्ता दिँदै आयोगमा बयान दिन नजाने स्पष्ट पारेका हुन्।
आयोगले ओलीलाई आगामी हप्ता बयानका लागि बोलाउने तयारी गरिरहेको सन्दर्भमा उनले प्रतिक्रिया दिए ।
‘यदि मान्नु भएन भने यसरी भए पनि ल्याउँछौँ, त्यसरी भए पनि ल्याउँछौँ भन्ने भाषा छ नि ?’ भन्ने प्रश्नमा ओलीले भने, ‘बयान दिन मानेन भने गोली ठोके हुन्छ नि। यत्रो कसुर गर्ने, बयान दिन नमान्ने१ नजिता आइसक्यो, जाँच दिन्नँ भन्ने ! यत्रो कसुर गर्नेलाई हान्दिनु नि गोली। उहाँहरूसँग त बन्दुक छ नि । के सानातिना कुरा गरिराख्या। भएन भने आजीवन थुन्दिने— बयान नगरेबापत।’
उनले अहिलेसम्म आयोगबाट बयानका लागि कुनै पनि लिखित वा मौखिक सूचना नआएको दाबी गरे ।