काठमाडौं । केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको सहसचिव सरुवाको प्रस्तावसहितको सूची गायब भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले मन्त्रिस्तरीय निर्णय गर्दै दर्जन बढी सहसचिव सरुवाको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाउनुभएको थियो । तर, प्रधानमन्त्री कार्यालय पुगेपछि सो सरुवा सूची नै एकाएक गायब पारिएको हो ।
केही अन्य मन्त्रीहरूले सहसचिव सरुवामा अनावश्यक रुचि देखाउन थालेपछि सामान्य प्रशासन मन्त्रालयबाट गएको सहसचिव सरुवाको सूची फेरबदल गर्नकै लागि गायब पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
यसरी नीतिगत तहमा समेत महत्वपूर्ण भूमिका खेल्ने सहसचिवको सरुवा प्रक्रिया र थिति बिगार्दै बाहिरैबाट भएमा त्यसले जेन–जी सरकारको सुशासनमा गम्भीर प्रश्न उठ्न सक्ने देखिएको छ । नेपाल समाचारपत्रबाट