काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरू कार्यक्षेत्रमा उपस्थित नभए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
सोमबार सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले सरुवा वा पदस्थापना भएका स्थानमा हाजिर नहुने कर्मचारीका कारण स्थानीय तहको सेवा प्रवाह नै प्रभावित हुन थालेको जनाएको छ ।
मन्त्रालयले स्थानीय प्रशासन ऐन, २०७४ को दफा ८४ (४) को व्यवस्था स्मरण गराउँदै सबै प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल सम्बन्धित स्थानीय तहमा हाजिर भई नियमित कामकाज सञ्चालन गर्न निर्देशन दिएको छ।
प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले स्थानीय सरकारको दैनिक कार्यसम्पादन, बजेट कार्यान्वयन र नागरिकलाई दिइने अत्यावश्यक सेवा प्रभावित भइरहेको गुनासो बढेपछि मन्त्रालय कठोर बनेको हो।
‘निर्णयबमोजिम रमाना भई नगएमा र स्थानीय तहको सेवा प्रभावित भएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ,’ मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।
पछिल्लो समय सुगम क्षेत्र वा आकर्षक कार्यालय रोज्ने प्रवृत्ति बढ्दै जाँदा दुर्गमका स्थानीय तहहरू प्रमुख प्रशासकीय अधिकृतविहीन बन्दै आएका छन् ।
