काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । साथै, अनुशासन आयोग र लेखा आयोगका गरी ६ जना पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशन निर्वाचन समितिका अनुसार सम्बन्धित पदमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।
केन्द्रीय सदस्यतर्फ लुम्बिनी प्रदेश महिलाबाट गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन्।
एमालेको विधानअनुसार प्रदेशबाट तीन जना महिला केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेकाले लुम्बिनीबाट तीनै जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन्।
यसैगरी मधेशी क्लस्टरतर्फ युवामा अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन्। मधेशी क्लस्टरबाट दुई जना युवा निर्वाचित हुने व्यवस्था भए पनि एक जनाको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी निर्विरोध निर्वाचित भएकी छन् भने समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी पिछडिएको क्षेत्र महिलातर्फ वदमीक्वारी बुढा, प्रवास दक्षिण एसियातर्फ हरिप्रसाद घिमिरे तथा ४० वर्षमुनिका केन्द्रीय सदस्य युवातर्फ नरेश रोकाया र सुशीलकुमार थापा निर्विरोध निर्वाचित भएका छन् ।
अनुशासन आयोगतर्फ अध्यक्षमा प्राडा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल निर्विरोध निर्वाचित भएका हुन् ।