काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा। प्रकाशकुमार श्रेष्ठ नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ दुई सय तथा भारतीय रुपैयाँ पाँच सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजानसक्ने व्यवस्था गरेको छ ।
यसैगरी विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसँग वार्ता गर्नको लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
संवाद समितिको संयोजकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र सदस्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सदस्य रहेका छन् भने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन् ।