एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी डोनबास क्षेत्रबाट युक्रेनी सेना फिर्ता नभए रुसले बलपूर्वक कब्जा गर्ने चेतावनी दिएका छन् । दिल्ली आउनुअघि ‘इन्डिया टुडे’लाई दिएको अन्तर्वार्तामा पुटिनले यस्तो चेतावनी दिएका हुन् ।
पुटिनले युक्रेनसँगको युद्ध समाप्त गर्ने सन्दर्भमा अन्य कुनै विकल्प स्वीकार्य नभएको स्पष्ट पार्दै भने, 'हामी उक्त क्षेत्र बलपूर्वक कब्जा गर्छौं वा युक्रेनी सेनाले आफैँ त्यो क्षेत्र छोड्नुपर्छ।'
रुस हाल डोनबास क्षेत्रको करिब ८५ प्रतिशत भूभाग नियन्त्रणमा राखेको बताइन्छ । तर युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने डोनबास त्याग्न नसकिने र त्यो ‘युक्रेनको अविभाज्य भूभाग’ रहेको अडान दोहोर्याएका छन् ।
यसबीच मस्कोमा मंगलबार भएको भेटवार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना शान्ति वार्ताकारहरूले रुसी नेताले युद्ध समाप्त गर्न चाहना व्यक्त गरेको विश्वास रहेको बताएका थिए ।
ट्रम्पको उक्त भनाइ सार्वजनिक भएको केही समयमै पुटिनले यस विषयमा आफ्नो कडा धारणा पुनः व्यक्त गरेका हुन्