काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका पिता डा. रामनारायण साहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । साहको आज उपचारका क्रममा निधन भएको थियो ।
आज मध्याह्न बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा रामनारायणको निधन भएको थियो । उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए ।
अस्पतालका अनुसार उनको आज मध्याह्न १२ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसअघि प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर भेटेकी थिइन् ।
बालेनलाई पितृ शोक परेको खबरले सरकारका मन्त्रीहरु, नेताहरु र बालेनका समर्थकहरु पनि अस्पताल पुगेका थिए। खेलकुदमन्त्री बब्लु गुप्ता, पूर्वशिक्षामन्त्री सुमना, श्रेष्ठ रास्वपाका नेता गणेश कार्की, विवेकशीलका मिलन पाण्डेलगायत अस्पताल पुगेका थिए ।
खेलकुदमन्त्री गुप्ता आर्यघाट पनि पुगेका छन् । उपसभामुख इन्दिरा रानामगर, रास्वपाका पूर्वसांसद गणेश पराजुलीदेखि कलाकार निश्चल बस्नेतसम्मको उपस्थित छ । आर्यघाटमा सयौं शुभेच्छुकहरूको उपस्थिति रहेको छ ।