तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना भएको छ । जसमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा चितवनको ईच्छाकामना गाउँपालिका–५ का ३१ वर्षीय पुष्पलाल श्रेष्ठ रहेका छन् ।
बुधबार बोलेरो दुर्घटनामा परी घाइते भएका श्रेष्ठको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
छिम्केश्वरी धार्मिक पर्यटकीय क्षेत्रबाट आँबुखैरेनीतर्फ आउँदै गरेको से १ च ६५१ नम्बरको बोलेरो जीप चालकले अचानक नियन्त्रण गुमाउँदा गाडी सडकबाट तल पल्टिएका कारण दुर्घटना भएको थियो ।
बोलेरोमा सवार ११ जनामध्ये पाँच जना सकुशल छन् । घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।