बारा। स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश उल्लंघन गर्दै युवाहरूले बाराको सिमरामा प्रदर्शन गरेका छन् ।
नेकपा एमालेका नेता र जेनजी युवाबीचको तनावपछि उत्पन्न हुन सक्ने जोखिम मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ ।
तर, सिमराको मुख्य बजार क्षेत्रमै ठूलो संख्यामा उपस्थित भएर युवाहरू नारावाजीसहित प्रदर्शन गरिरहेका छन् ।सुरक्षाकर्मीहरूले माइकिङ गर्दै युवाहरूलाई आआफ्ना घर फर्कन भनिरहेका छन् ।
स्थानीय प्रशासनले गण्डक नहरदेखि पथलैया सडक खण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ ।
एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो ।
त्यसलाई सम्बोधन गर्दै काठमाडौंबाट एमाले उपाध्यक्ष शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य महेश बस्नेतलगायतका नेता सिमरा आउँदै थिए ।
जेनजी आन्दोलनका क्रममा विमानस्थलमा गरिएको दमन अझै ताजा रहँदा बस्नेतको आगमन स्वीकार्य नभएको तर्क गर्दै जेनजी युवाहरुले कार्यक्रम असफल पार्न शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए ।
साथै बुधबार बिहानै बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेन जेड अगुवा सम्राट् उपाध्यायमाथि हातपात गरेपछि तनाव सुरु भएको थियो।
झडप रोक्न प्रहरीले बल प्रयोग गरेपछि विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ।