पोखरा । कास्की प्रहरीले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी तथा हतियार लुटपाट प्रकरणमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–५ का ३१ वर्षीय श्यामबहादुर तामाङ र पोखरा–२ का २२ वर्षीय सागर राउत रहेका छन् । कास्की प्रहरीले सार्वजनिक गरेको अभिलेखअनुसार तामाङ अघिल्लो वर्ष चोरी काण्डमा पक्राउ परेका व्यक्ति नै रहेको खुलेको छ ।
प्रहरी नायब उपरीक्षक तथा कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार दुवै जनाको साथबाट एक राउन्ड गोली, बोल्ट र ट्रिगरका भाग, काठको बटको टुक्रा तथा दुई थान मोबाइल बरामद गरिएको छ। यी सामग्रीहरू भदौ २४ को घटनामा प्रयोग भएको आशंका प्रहरीले गरेको छ।
घटनाको संवेदनशीलता र हतियार लुटपाटको गम्भीरतामाथि ध्यान दिँदै प्रहरीले दुवै आरोपितमाथि हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा पाँच दिन थुनाम्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाएको छ।