काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा मन्त्री कुलमान घिसिङको सक्रिय राजनीतिक भूमिका ‘गैरदलीय सरकार’ को मर्म विपरित भएको भन्दै प्रश्न उठाएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई ध्यानमा राखेर गैरदलीय सरकार गठन गरिएको दाबी गरे पनि त्यही सरकारका एक मन्त्रीले नयाँ दल दर्ता गरी चुनावी अभियानमा उत्रन लाग्नु नैतिक रूपमा आपत्तिजनक भएको पोखरेलको टिप्पणी छ ।
सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत प्रतिक्रिया व्यक्त गर्दै पोखरेलले भने, 'प्रधानमन्त्रीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्नुहुन्छ, तर आफ्नै अगुवाइमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?'
उनी भन्छन्— 'यस्तो अवस्थामा घिसिङको निरन्तरता नैतिक दृष्टिले असंगत हुने भएकाले ‘अविलम्ब बिदा गरिनुपर्छ’।'
उर्जा मन्त्री घिसिङले हालै नै नयाँ राजनीतिक दल दर्ता गरिसकेका छन् । तर उनी अहिले त्यसमा पदाधिकारी छैनन् ।