काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदान गर्न पाइने भएको छ।
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गरेको हो ।
यस सम्बन्धि व्यवस्थाको शुभारम्भ बिहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका छन् ।
यसका लागि बुधबार रातभरि प्राविधिक तयारी र परीक्षण भएको थियो ।
यस्तै प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन्।
छलफलमा आयोगका कार्यवाहक प्रमुख कायुक्त रामप्रसाद भण्डारीसहितका अधिकारीहरू थिए । जहाँ आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्न लागिएको जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको थियो ।
छलफलमा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरे पनि थिए । महानिर्देशक घिमिरेले राष्ट्रिय परिचय पत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताएका थिए ।
यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफै निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउनेछ ।