काठमाडौँ । ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमाले जस्तो लागेको टिप्पणी गरेका छन् । नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै देखिएका उनले गृहमन्त्री सो टिप्पणी गरेका हुन् ।
गुरुङले अर्याललाई एमालेसँग तुलना गर्दै भने, 'पहिले जंगी अड्डादेखि शीतल निवाससम्म उहाँ संविधानविद्का रुपमा उपस्थित हुनुहुन्थ्यो, तर अहिले आएर चुनाव मात्रको ढाँट गर्नु हो।'
उनले गृहमन्त्रीको वर्तमान व्यवहारलाई विश्वासघातपूर्ण र जनता प्रति अनुचित ठहराएका छन् । 'उहाँले त जेन्जीहरुलाई समातिराख्नु भएको, यतापट्टि पोलिटिकल पार्टीकालाई छोएको पनि छैन । मलाई त कहिलेकहिले उहाँ त एमालेको पो हो कि जस्तो लाग्छ, हाम्रो गृहमन्त्रीज्यू,’ उनले भने ।
गुरुङले जेनजीआन्दोलनको भावनाअनुसार अघि बढ्न गृहमन्त्रीले खुट्टा कमाइरहेको टिप्पणी गरे । जेनजीको भावनाअनुसार चल्न नसके मार्गप्रशस्त गर्न गृहमन्त्री अर्याललाई उनले सुझाव दिए ।
जेन्जी आन्दोलनपछि चर्चा बटुल्न सफल सुदन गुरुङ पछिल्लो समय गृहमन्त्रीको राजिनामा माग्दै आएका छन् ।