Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदन गुरुङको चेतावनी - गृहमन्त्रीको काम पुराना सरकारजस्तै भयो भने हामी चुप बस्दैनौँ

सुदन गुरुङको चेतावनी - गृहमन्त्रीको काम पुराना सरकारजस्तै भयो भने हामी चुप बस्दैनौँ

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङले गृहमन्त्रालयको कार्यप्रति असन्तुष्टि जनाउँदै सरकार ढाल्ने राजनीतिक खेलप्रति चेतावनी दिएका छन् ।

उनले आफ्नो असन्तुष्टि भावनामा नभई तथ्यमा आधारित भएको स्पष्ट गर्दै गृहमन्त्रीको असक्षमता र गैरजवाफदेहितामाथि प्रश्न उठाएका हुन् ।

गुरुङले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्, 'हामी गृह मन्त्रालयको कामबाट सन्तुष्ट छैनौं । यो भावना होइन, तथ्यमा आधारित असन्तुष्टि हो। यो गृहमन्त्रीको असक्षमता र गैरजवाफदेहिताको आलोचना हो, न कि आम नागरिक र आन्दोलनको अनादर।'

उनका अनुसार जेनजी आन्दोलन कुनै सरकार ढाल्ने खेल वा संवैधानिक आक्रमण होइन, स्कुले पोशाकमा मारिएका बालबालिकाको न्याय, भ्रष्टाचारविरुद्धको आवाज र राज्य आतङ्कविरुद्धको प्रतिरोध हो। 'हामीलाई भाषण होइन, काम चाहिएको हो। योग्यताको प्रमाण पदले होइन, परिणामले दिनुपर्छ,' उनले भनेका छन्।

गुरुङले आफू सहिद परिवारप्रति गरेको बाचा दोहोर्याउँदै सरकारप्रति समर्थन र प्रश्न दुवैलाई लोकतान्त्रिक दायित्वका रूपमा व्याख्या गरेका छन्। 'सरकारलाई सहयोग गर्छु तर प्रतिपक्षमा पनि बस्छु भन्ने मेरो हरेक सहिद परिवारप्रति बाचा हो। हामीलाई कुर्सी होइन, न्याय चाहिएको हो,' उनले भने ।

उनले सरकारलाई नागरिकको म्यान्डेट सम्झन आग्रह गर्दै चेतावनी दिए — 'हामी आफ्नै सरकारका मन्त्रीलाई प्रश्न गर्न डराउँदैनौं, किनकि म्यान्डेट जनताले दिएको हो। आज उनीहरूले त्यो म्यान्डेट बिर्से भने सोच्नुस्, जब अरू पार्टीका हातमा त्यो कुर्सी पुग्छ भने देश कता जान्छ ?'

सुदन गुरुङले आन्दोलनलाई वैधानिकता दिन अन्तरिम सरकारले तुरुन्त कदम चाल्नुपर्ने आवश्यकता औंल्याए। 'यो आन्दोलन कसैलाई पद दिलाउन होइन, रगत, आँसु र सपनाको लडाइँ हो — नेपाली अस्तित्व र भविष्यका लागि,' उनले भने।

राजनीतिक शक्ति सन्तुलन र लोकतान्त्रिक जिम्मेवारीबारे सन्देश दिँदै उनले थपे, 'जो कोही अहिले राजनीतिक खेल खेल्दै सरकार ढाल्ने वा आन्दोलन कमजोर पार्ने प्रयासमा छन्, उनीहरूले याद राखुन् — प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूको ढाल भएर हामी उभिएका छौँ। उनीहरूलाई पुग्नुअघि हामीलाई पार गर्नुपर्छ।'

गुरुङले भने, 'नेपालले हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङको सन्देश बुझोस् — हामीले प्रधानमन्त्रीलाई जिम्मा लगाइएको मुलुक हो, आशा मार्ने होइन, जोगाउने हो। खबरदारी नागरिक कर्तव्य हो, प्रगतिशील लोकतन्त्रमा युवा नै सरकारका स्वाभाविक प्रतिपक्ष हुन्।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077