काठमाडौं । 'हामी नेपाल'का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति कडा प्रश्न उठाएका छन् ।
उनले निकोलस भुसालको अभिव्यक्तिलाई लिएर गरिएको कारबाही र एमाले नेता महेश बस्नेतको विवादास्पद अभिव्यक्तिप्रति देखाइएको मौनतामाथि असन्तुष्टि जनाएका हुन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीको निष्पक्षतामाथि प्रश्न उठाउँदै लेखेका छन्, “निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो गृहमन्त्रीज्यू ?अनि किन निकोलसमात्रै पक्राउ परे ?”
उनले थपे, “कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनुभएको हो ? बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ आन्दोलन हार्दैछ ।” गुरुङले यो टिप्पणी जेनजी अभियन्ता भावना राउतले सामाजिक सञ्जालमा राखेको धारणालाई समर्थन गर्दै गरेका हुन्।
निकोलस भुसाललाई हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले हालै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। तर, महेश बस्नेतले दिएका उक्साउने खालका राजनीतिक अभिव्यक्तिप्रति सरकारले कुनै कदम नचालेको भन्दै आलोचना बढेको छ।