काठमाडौं । जेनजी आन्दोलनकी अभियन्ता रक्षा बमले निहत्था विद्यार्थीमाथि गोली चलाउने आदेश दिने व्यक्तिहरू अझैसम्म दण्डविहीनरूपमा समाजमा खुलेआम हिँडिरहेको भन्दै कडा आपत्ति जनाएकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत भावनात्मक रूपमा न्यायको माग गर्दै समाजको मौनता र संवेदनशीलताको अभावप्रति निराशा प्रकट गरेकी हुन् ।
अभियन्ता बमले लेखेकी छन्, 'निहत्था विद्यार्थीहरूमाथि गोली बर्षाउने आदेश दिने तानाशाह खुलेआम घुम्दैछ। अन्तरवार्ता दिँदैछ। अझै पनि चुट्किला सुनाएर दुनियाँ हँसाइरहेको छ।'
उनका अनुसार यस्ता व्यक्तिहरूको चुट्किलामा ताली बजाउने काम केवल मनोरञ्जन होइन, निरंकुशता र तानाशाही व्यवहारलाई वैधता दिने कार्य हो। 'मानिसहरू उसको चुट्किलामा ताली बजाइरहेका छैनन्, उनीहरू त निरंकुश तानाशाहको हर्कतलाई बढाइरहेका छन्,' उनले लेखेकी छन्।
बमले समाजको यस्तो अवस्थाप्रति गहिरो असन्तुष्टि जनाउँदै लेखेकी छन्, 'यो अट्टहासको साक्षी कसरी बस्न सकेका होलान् मानिसहरू ? एउटा दम्भी तानाशाहको भाषणमा ताली बजाएर घर फर्किएकाहरू आफ्नो वरिपरि हुर्किरहेका जेनजीहरूसँग आँखा जुधाएर कुरा गर्न कसरी सकिरहेका होलान् ?'
उनले अझै पनि पीडितहरू घाउ बोकेर न्यायको प्रतीक्षामा रहेको बताउँदै भनिन्, 'हाम्रा साथीहरूको रगत सडकमा अझै सुकेको छैन। चिसो रातहरूमा घाइते साथीहरूको शरीर झन् बढी कटकट्याएर दुखिरहेको छ।'
उनले प्रत्येक पीडा र रगतको थोपाले न्याय पाउनुपर्ने जोड दिँदै लेखेकी छन्, 'न्याय ढिलो भयो भने पनि आवाज दबिँदैन। हाम्रा सपनासँगै न्यायको माग अझ बलियो हुँदै जानेछ।' उनको यो टिप्पणी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली लक्षित आएको अनुमान गरिएको छ ।