काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियारसहित एकजना पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको बालाजु क्षेत्रबाट २३ वर्षीय शिवराज धमलालाई पक्राउ गरेको हो ।
कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार धमलाको डेराबाट इन्सास रायफल, सटगन र पेस्तोल बरामद गरिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले ती हतियार भदौ २४ गतेको जेनजी प्रदर्शनका बेला प्रहरीबाट लुटिएको स्वीकार गरेको प्रहरीको दाबी छ।
पक्राउ परेका धमला पेशाले पठाओ चालक रहेको र आन्दोलनका क्रममा हतियार लुटपाटमा संलग्न भएको प्रमाण फेला परेपछि प्रहरीले पछ्याउँदै उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
उनीसँग थप सोधपुछ र अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।