काठमाडौं । नेकपा माओवादी केन्द्रसहित विभिन्न नौ दलबीच हुन लागेको एकता अस्वीकार गरेका एकीृकत समाजवादीका महासचिव घनश्याम भुसालले कमजोरहरूको एकताले उँभो नलाग्ने टिप्पणी गरेका छन्।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता भुसालले यस्तो टिप्पणी गरेका हुन्।
माओवादी संयोजक प्रचण्ड र आफ्नो पार्टीका अध्यक्ष माधव नेपाल दुबै संकटमा परेपछि त्यसबाट मुक्त हुने सुत्रका रुपमा मात्रै एकता गर्न लागेकोले यसले निकास नदिने उनले बताए।
उनले भने- 'माओवादीभित्र के के विवाद भयो, मंसिरमा महाधिवेशन गर्नुपर्ने भयो। त्यसलाई कसरी टार्ने भयो, यता हामी (माधव नेपाल) माथि मुद्दा लाग्यो के के भयो। यसखालको संकटलाई थुपारेर त्यो संकटबाट मोचन गर्ने फर्मुला जुन तयार भएको छ, यो गलत छ । ‘कमजोरहरूको, ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदैछ । यसले निकास दिँदैन ।'
प्रविधि, यसको विकास र यसले समाजमा पारेको प्रभाव, मनोविज्ञानले धेरै कुरा बदलिए पनि पुराना पार्टीहरूको नेतृत्व भने बदलिन नसकेको बताए। उनले संसद विघटन गर्दा पनि केपी ओली एमाले अध्यक्ष भइरहने, पार्टी सकिएर जाँदा पनि पुष्पकमल दाहाल माओवादी केन्द्रको अध्यक्ष भइरहने प्रवृत्ति हट्न नसकेको बताए।
उनले सुशासनको कुरा गर्ने तर भ्रष्टाचार मुद्दा लागेपछि पनि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी अध्यक्ष छाड्न नचाहेको बताए।
उनले राजनीतिक पार्टी र त्यसको नेतृत्व सुधार नभएसम्म राज्य संयन्त्र सुध्रिन नसक्ने बताए।