Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय सदस्य शिवाकोटी भन्छन् – महाधिवेशन कार्यतालिकासम्बन्धी महामन्त्रीको प्रस्ताव मात्र वैधानिक हो

कांग्रेस केन्द्रीय सदस्य शिवाकोटी भन्छन् – महाधिवेशन कार्यतालिकासम्बन्धी महामन्त्रीको प्रस्ताव मात्र वैधानिक हो

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन कार्यतालिकासम्बन्धी केवल एकै औपचारिक प्रस्ताव पेश भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै उनले मंगलबारको बैठकमा सहमहामन्त्री महेन्द्र यादवले राखेको कार्यतालिकालाई व्यक्तिगत धारणा मात्रै भएको स्पष्ट पारेका हुन् ।

शिवाकोटीका अनुसार नेपाली कांग्रेसको संगठनात्मक परम्परा र विधानअनुसार पार्टीका महामन्त्रीले मात्र औपचारिक प्रस्ताव पेस गर्ने व्यवस्था छ ।

उनले भने, 'मंगलबारको बैठकमा सहमहामन्त्री यादवले राखेको कार्यतालिका औपचारिक प्रस्ताव होइन, त्यो उहाँको व्यक्तिगत मत हो। औपचारिक प्रस्ताव भनेको महामन्त्रीले प्रस्तुत गरेको कार्यतालिकामात्र हो।'

शिवाकोटीले गलत बुझाइका कारण कांग्रेस बैठकमा दुईवटा कार्यतालिका पेश भए भन्ने समाचारहरू भ्रामक रूपमा आएका बताएका छन्।

उनले भने, 'यदि महेन्द्र यादवको धारणा प्रस्ताव मान्ने हो भने, यसअघि ३१ असोजमा केन्द्रीय सदस्य प्रदीप पौडेलले राखेको कार्यतालिकालाई पनि प्रस्ताव मान्नुपर्छ, जसअनुसार बैठकमा तीनवटा प्रस्ताव भएको ठहर हुनेछ।'

उनका अनुसार पौडेलले असोज ३१ गतेको बैठकमा ९ देखि १३ पुससम्म विशेष महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए।

शिवाकोटीले संस्थापन पक्षले महाधिवेशन कार्यतालिकामा काउन्टर प्रस्ताव ल्याएको खण्डमा त्यसलाई दुर्भाग्यपूर्ण कदम भएको बताए।

उनले भने, 'संस्थापनले काउन्टर प्रस्ताव ल्याएको हो भने त्यो पार्टीको आन्तरिक लोकतन्त्रका लागि राम्रो संकेत होइन। तर, कार्यबाहक सभापतिले जानीबुझी यस्तो गर्नु भएको छ भन्ने मलाई लाग्दैन।'

उनले १४औं महाधिवेशनका २४८८ जना (करिब ५५ प्रतिशत) प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरिसकेकाले अब विधानअनुसार त्यस अवधिभन्दा पछाडिको कुनै पनि प्रस्ताव वैधानिक रूपमा अमान्य हुने स्पष्ट पारे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077