काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक अभियानको घोषणा गरेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले ‘प्रगतिशील अभियान नेपाल’ नामक नयाँ राजनीतिक अभियान सुरुवात गरेको घोषणा गरेका हुन् ।
शर्मासँगै राम कार्की र अञ्जना विसंखे पनि अभियानमा सहभागी भएका छन्। पत्रकार सम्मेलनमा दुबै नेता उपस्थित थिए।
शर्माले माओवादी आन्दोलनका बाँकी कार्यभार पूरा गर्दै वाम आन्दोलनलाई नयाँ ढंगले पुनःगठन गर्ने उद्देश्यसहित अभियान अघि बढाइने बताए। उनका अनुसार माओवादी आन्दोलनले बोकेका आदर्श, सहिदका बलिदान र जनआकांक्षालाई व्यवहारमा रूपान्तरण गर्न अहिले नयाँ दिशा आवश्यक भएको छ।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि तीव्र असन्तुष्टि जनाउँदै भने,'अध्यक्ष प्रचण्डले माओवादी पार्टी छाडेर माधवकुमार नेपालजीको नीतिमा आत्मसमर्पण गर्नुभयो । हामीले त्यो स्वीकार गरेका छैनौं। त्यसैले नयाँ ढंगले पुनर्गठनसहित प्रगतिशील अभियान अघि बढाउने अठोट गरेका छौं ।'