Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्की र कांग्रेस महामन्त्रीद्वयबीच निर्वाचन तयारीबारे छलफल

प्रधानमन्त्री कार्की र कांग्रेस महामन्त्रीद्वयबीच निर्वाचन तयारीबारे छलफल

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । आसन्न निर्वाचनलाई ध्यानमा राख्दै प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलका नेताहरूसँग परामर्श प्रक्रिया तीव्र पारेकी छन्।

शनिबार दिउँसो उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा लामो भेटवार्ता गरेकी हुन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार छलफलमा आगामी निर्वाचनका लागि सरकार र दलहरूले अहिलेसम्म गरेका तयारी, बाँकी काम र आवश्यक समन्वयका विषयमा खुला संवाद भएको थियो।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा सबै राजनीतिक दलको स्पष्ट र साझा प्रतिबद्धता जरुरी रहेको बताउँदै निर्वाचनलाई राष्ट्रिय निकासका रूपमा लिन आग्रह गरेकी थिइन्।

छलफलका क्रममा कांग्रेस महामन्त्रीद्वयले आफ्नो पार्टी औपचारिक निर्णय नलिए पनि निर्वाचनमा जान प्रतिबद्ध रहेको जानकारी दिएका थिए।

'औपचारिक निर्णय गर्न बाँकी भए तापनि नेपाली कांग्रेस निर्वाचनमा जान तयार छ। नेकपा एमाले पनि राष्ट्रलाई निकास दिन निर्वाचनबाट भाग्न सक्दैन भन्ने हाम्रो विश्वास छ,' थापाले बताएका थिए।

शर्माले भने, 'एमालेलाई मनाउन सरकारले पनि पहल गरोस्, हामी पनि संवादमा जुट्छौँ।'

दुवै महामन्त्रीले जेनजी युवा आन्दोलनलगायत अन्य राजनीतिक शक्तिसँग पनि शीघ्र र गहन संवाद सुरु गर्ने बताएका छन्।

उनका अनुसार, युवाहरूका जायज मागहरूलाई निर्वाचनअघि नै सम्बोधन गर्ने र निर्वाचनपछिको संसदको पहिलो बैठकले दीर्घकालीन निर्णय लिने तयारी अहिले नै थाल्नुपर्ने आवश्यकता छ।

प्रधानमन्त्री कार्कीले नेकपा एमालेका शीर्ष नेताहरूसँग पनि निकट भविष्यमै छलफल गर्ने तयारी गरेकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077