काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो एकता–आह्वानप्रति कटाक्ष गरेका छन् ।
शुक्रबार साँझ ओलीले सामाजिक सञ्जालमार्फत पार्टी छाडेकाहरूलाई पुनः एमालेमा फर्कन र एकजुट हुन अपिल गरेका थिए। तर बास्कोटाले सो अपिललाई 'फुटेपछि एकताको आवश्यकता सम्झनु वाहियात' भन्दै व्यंगपूर्ण टिप्पणी गरेका छन् ।
बास्कोटाले फेसबुकमा लेखेका छन् — 'फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो। तर नेपालका वामपन्थी त्यै प्रवृत्तिबाट अभिशप्त छन्। मिसिने तर नमिल्ने — हिन्द र प्रशान्त महासागर जस्ता। कारण — गहिराइको चाप र नेतृत्वको राप ।'
उनले थपेका छन्, 'फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु, अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने।'
बास्कोटाको यो अभिव्यक्ति एमाले अध्यक्ष ओलीको एकता आह्वानपछि आएको दोस्रो उच्चस्तरीय असन्तुष्ट प्रतिक्रिया हो । यसअघि पार्टीबाट निष्कासित नेता भीम रावलले पनि ओलीको वक्तव्यलाई “शब्दजाल र भ्रम फैलाउने चाल” को संज्ञा दिएका थिए ।