काठमाडौं। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीका कार्यालय मात्रै जलेनन् ठूलो मात्रामा पोशाक समेत लुटिए ।
आन्दोलनको करिब डेढ महिनापछि डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा १ लाख २० हजार ६६१ मिटर प्रहरी पोशाक लुटपाट तथा जलेर नष्ट भएको उल्लेख छ ।
जसमा ट्राफिक पोशाक, बर्दी, गर्भवती महिलाले लगाउने पोशाकहरु रहेको बताइएको छ । यद्यपी कति पोशाक लुटिए र कति जले भन्ने बारेमा भने खुल्न नसकेको उल्लेख छ ।
जेनजी आन्दोलनका क्रममा उपत्यकामा मात्रै नेपाल प्रहरीको १२२ वटा कार्यालय पूर्णरुपमा जलेका थिए भने ९६ वटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको थियो ।
यस्तै प्रहरीका ११७ वटा चारपाङ्ग्रे गाडी पूर्णरूपमा जलेर खरानी हुँदा चार वटा गाडीमा आंशिक क्षति पुगेको थियो । आन्दोलनका क्रममा प्रहरी कर्मचारीका १५८ वटा दुईपाङ्ग्रे निजी सवारीसाधन पनि पूर्णरूपमा जलेर नष्ट भएका थिए ।
२३ गतेको आन्दोलनमा प्रहरी दमन हुँदा १९ जना युवाको ज्यान भएपछि दोस्रो दिन प्रदर्शनकारीहरु तोडफोड, लुटपाट र आगजनीमा उत्रिएका थिए ।
उक्त दिन प्रहरी कार्यालय मात्रै नभई सिंहदरबार, संसद भवन, अदालतहरु, सरकारी कार्यालयहरु, राजनीतिक दलका कार्यालय तथा शिर्ष नेताका घरहरु र होटल तथा भाटभटेनी जस्ता ठूला ब्यापारिक भवनहरुमा आगजनी भएको थियो ।