काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले वर्तमान सरकारमाथि कडा टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले सिंहदरबार जलाएर खुसी मनाउनेहरूलाई सरकारले पक्राउ नगरी उल्टै प्रधानमन्त्रीसहितको बैठकमा सहभागी गराएकोप्रति टिप्पणी गरेका हुन् ।
शाहीले लेखेका छन्, 'सिंहदरबार जलाएर खुसी मनाउँदै फोटो सुट गर्ने देशद्रोहीलाई कहिले पक्रिन्छौ सुशीला आमाको सरकार ? भ्रष्टाचारी र हत्यारा नेताहरूको घर जलाउनेलाई पक्राउ गर्ने सरकारले सिंहदरबार जलाउनेलाई पुरस्कार स्वरूप प्रधानमन्त्रीसहितको बैठकमा सामेल गराएको छ। यो देशको दुर्भाग्य हो।'
शाहीले चेतावनी दिएका छन्, 'यदि सरकारले यस्ता देशद्रोहीहरूलाई च्याप्दै गयो भने पतनको बाटो निश्चित हुनेछ।'
प्रधानमन्त्री शुशीला कार्कीले हिजो बोलाएको बैठकमा जेनजी प्रतिनिधि रक्षा बमसहितको उपस्थिति रहेको थियो । रक्षा उनै हुन्, जो ‘देखिस् तेरो पतन !’ भन्दै जलिरहेको सिंहदरबारअघि विजयी पोजसहित तस्बिर खिचाएकी थिइन् ।