काठमाडौं । काठमाडौंबाट धनगढीका लागि छुटेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ ।
गएराति २ बजेतिर पैदलयात्रुले झुक्काउँदा कपिलबस्तु शिवराज नगरपालिका–१ बनकसबासमा बा.प्र. ०१–००६ ख ८५०६ नं.को बस दुर्घटना भएको हो । बस अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । मृत्यु हुने पैदलयात्री हुन् ।
उनको पहिचान खुल्न बाँकी छ । यस्तै, बसमा सवार १७ जना यात्रुमध्ये ५ जना घाइते भएका छन् ।
उनीहरूको संजिवनी सामुदायिक अस्पताल, चन्द्रौटामा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।