काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले ‘जेनजी’ आन्दोलनमा आपराधिक गतिविधि गर्नेहरू दण्डित हुने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
समाज धमिल्याउने आपराधिक गतिविधिलाई प्रहरीले कुनै पनि हालतमा रोक्नुपर्ने भएकाले त्यस्ता तत्त्वलाई निसाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए ।
आन्दोलनको बहानामा आपराधिक कार्य भएको उल्लेख गर्दै उनले भने- 'जेनजी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने आपराधिक प्रवृत्तिहरू पनि चलखेल भएको देखिएको छ । त्यो वास्तवमा गलत हो । त्यस्ता आपराधिक कार्यहरू दण्डित हुनुपर्छ । उनीहरू क्रमशः दण्डित हुन्छन् भन्ने कुरा यहाँहरू सबै समक्ष आश्वस्त पनि बनाउन चाहन्छु । यो आन्दोलनपश्चात् आम रूपमा प्रहरीको मनोबल खस्केको जस्तो पनि देखिएको थियो । तर, प्रहरीको मनोबल खस्कनुपर्ने कुनै कारण छैन । प्रहरीप्रति आमवर्गको अपेक्षा ठूलो छ । तर, ती सबैको अपेक्षा पूर्ति गर्न सक्ने अवस्था रहँदै रहँदैन । प्रहरीले त रोक्नुपर्ने हुन्छ । नो भन्नुपर्ने हुन्छ । कुनै पनि अपराधिक गतिविधिलाई रोक्नुपर्ने हुन्छ ।'
जेनजी आन्दोलनपछि प्रहरीको मनोबल खस्केको भन्ने भनाइमा सत्यता नरहेको उनको भनाइ थियो ।