काठमाडौं । नेपाल प्रहरीको एआईजी बढुवाले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि प्रश्न उठेको छ । आइतबार चार डीआईजीको एआईजीमा बढुवा सिफारिस भएकोमा सबै जना गुप्तचर टोलीबाट बढुवा भएका छन् ।
जुन बढुवाले नेपाल प्रहरीतर्फका इमान्दार अधिकारीहरुमाथि फेरि पनि अन्याय भएको छ । बढुवा समितिले डीआईजीहरु सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ र डम्बरबहादुर विकलाई बढुवा सिफारिस गरेको छ ।
चारै जना गुप्तचरबाट नेपाल प्रहरीमा आएका अधिकारी हुन् । उनीहरु कार्यसम्पादनमा कमजोर मानिन्छन् । उनीहरुको कारण जनपदतर्फका दिनेश आचार्य, ईश्वर कार्की, अरुण पौडेल, राजेन्द्र भट्ट लगायतलाई अन्याय भएको छ ।
हाल बढुवा सिफारिस हुने चारै जना विगतमा कांग्रेसको सरकार हुँदा पनि अवसर पाएका अधिकारी हुन् । अहिले स्वतन्त्र मानिएको सरकारले पनि उनीहरुलाई नै रोजेपछि प्रहरीमा राम्रा काम गर्नेको मूल्याङकन नभएको भन्दै असन्तुष्टि देखिएको छ ।
जसकारण गृहमन्त्री ओमप्रकाश अर्याल र आईजीपी चन्द्रकुबेर खापुङमाथि समेत प्रश्न उठेको छ । कठिन अवस्थामा रहेको प्रहरीको यो बढुवाले मनोबल खस्कने जोखिम छ ।
गृहमन्त्री अर्यालको यो अन्यायपूर्ण कार्यले गर्दा प्रहरीमा काम गर्ने र क्षमता भएका अधिकारीहरुको मनोबल समेत खस्कने अवस्था देखिएको छ।