काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहमाथि कडा टिप्पणी गरेका छन् । उनले हालैको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयासलाई ‘गलत र गैरजिम्मेवार व्यवहार’ भनेका हुन् ।
महासचिव पोखरेलका अनुसार, २३ र २४ गते भएका विध्वंस र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न खोज्दा बालेन शाहले गृहमन्त्री ओम प्रकाश अर्यालमार्फत प्रहरीलाई रोक्ने प्रयास गरेका छन् ।
फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरेलले लेखेका छन्, 'नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीमार्फत रोक लगाउने, अनि राजनीतिक दलहरूलाई दोषारोपण गर्दै आफू ‘पानीमाथिको ओभानो’ बन्न खोज्नु हास्यास्पद छ।'
उनले आन्दोलनका नाममा भएका हिंसात्मक गतिविधिको ढोका खोल्ने काम कुनै पनि जनप्रतिनिधिले गर्नु नहुने भन्दै दोषी जोसुकै भए पनि कानूनी कारबाही हुनुपर्नेमा जोड दिएका छन्।
पोखरेलले प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजन गर्न दिने वातावरण आवश्यक रहेको बताउँदै भने, 'एमालेले कानूनी प्रक्रिया अघि बढाउन पूर्ण सहयोग गर्नेछ।'
जेनजी आन्दोलनका क्रममा राजधानीका विभिन्न स्थानमा तोडफोड, आगजनी र लुटपाटका घटना भएका थिए। ती घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिन प्रहरीले अभियान चलाइरहेको छ।