काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पुनर्स्थापना र संविधानलाई लयमा फर्काउन सडक आन्दोलन अघि बढाउने प्रस्ताव पेश गरेका छन् ।
मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रस्तावमा आन्दोलनबारे लेखिएको छ ।
ओलीले पेश गरेको दस्तावेजको १४ औं बुँदामा ‘देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन ‘आन्दोलन’ शीर्षकमा ओलीले लेखेका छन्–‘सरकारको संरक्षणमा भइरहेका ज्यादती र उल्टो गतिका विरुद्ध एवं विघटित संसद्को पुनर्स्थापना गर्दै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेको हाम्रो पार्टीको निष्कर्ष पनि हामी प्रष्ट पार्न चाहन्छौं ।’
ओली अब गर्ने भनिएको आन्दोलनलाई ‘जनआन्दोलन’ भनेका छन् । उनले उक्त आन्दोलनमा सरिक हुन संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरूलाई आह्वान पनि गरेका छन् ।