चितवन । चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो आज बिहान ९ः५० बजे भत्किएको थियो।
भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना घाइते भएका थिए। तीमध्ये तीन जनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन्। दुवैको सोही अस्पतालमा उपचार भइरहेको छ ।
हात खुट्टामा चोट लागेका दुवैजनाको अवस्था मध्यम रहेको चितवन प्रहरीको भनाइ छ ।