Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखलाई राप्रपाको ८ बुँदे सुझाव- जेनजीका माग पूरा नभएसम्म संसद् पुनर्स्थापना नगरौँ

सभामुखलाई राप्रपाको ८ बुँदे सुझाव- जेनजीका माग पूरा नभएसम्म संसद् पुनर्स्थापना नगरौँ

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जेनजीका माग पूरा नभएसम्म संसद् पुनर्स्थापना नगर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद पुनःस्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि बोलाएको प्रमुख राजनीतिक दलहरूको बैठकमा राप्रपाका प्रवक्ता शाहीले जेनजीका माग पूरा हुनुपर्नेमा जोड दिएका हुन् ।

प्रवक्ता शाहीले संसद्लाई निरन्तरता दिने वा पुनर्स्थापना गर्नेभन्दा पनि देशलाई सही दिशा दिनका लागि आधारभूत सुधार आवश्यक रहेको धारणा राख्दै ८ बुँदे संरचनागत सुधारको खाका प्रस्तुत गरेका छन् ।

राप्रपाले यी मागहरू पूरा गर्ने प्रतिबद्धता संसद्बाट नआएसम्म पुनर्स्थापनाको प्रक्रिया रोक्ने अडान लिएको छ ।

यस्ता छन् उनले राखेका मुख्य सर्तहरु

१. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री : राजनीतिक नेतृत्वमा बलियोपन र स्थिरता कायम गर्न वर्तमान अस्थिर संसदीय प्रणालीको सट्टामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागु गर्न तत्काल राष्ट्रिय बहस थाल्नुपर्ने र संवैधानिक सुधारको पहल गरिनुपर्ने ।

२. प्रदेश संरचना खारेज : राज्यको दोहोरो खर्च बढाएको र सेवा प्रवाहमा प्रभावकारिता नल्याएको भन्दै वर्तमान प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने । संघीयतालाई केन्द्र र ‘बलियो स्थानीय तह’मा मात्र सीमित गर्नेतर्फ अध्ययन र सहमति खोजिनुपर्ने ।

३. गैरदलीय स्थानीय तह : स्थानीयस्तरको विकास र सेवा प्रवाहलाई दलगत राजनीतिकरणबाट मुक्त गर्नका लागि गैरदलीय (दलगत राजनीतिमुक्त) स्थानीय तहको अवधारणा लागु गरिनुपर्ने ।

४. संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द : संवैधानिक निकायहरूको निष्पक्षता, मर्यादा र विश्वास कायम राख्न राजनीतिक प्रभावमुक्त, योग्यता र क्षमताका आधारमा मात्र नियुक्ति गर्ने प्रणाली विकास गरिनुपर्ने ।

५. राष्ट्रिय एकता कायम गर : देशमा राष्ट्रिय एकता र सद्भाव कामय गर्नुपर्ने ।

६. भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कठोर कानुन : भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न र दोषीलाई कठोरतम कारबाही गर्नसक्ने गरी सशक्त र प्रभावकारी नयाँ कानुन तत्काल निर्माण गरिनुपर्ने ।

७. प्रतिनिधिसभा उमेदवारको उमेर हद घटाउने : १८ वर्षका नागरिकले भोट हाल्ने अधिकार पाएकाले राज्यसत्ता सम्हाल्न पनि सक्षम रहेको भन्दै प्रतिनिधिसभाको उमेदवार बन्नका लागि तोकिएको उमेरहद २५ वर्षबाट घटाएर १८ वर्ष गरिनुपर्ने ।

८. अनलाइन मतदान प्रणालीको व्यवस्था : विदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी र पेसाकर्मीहरूलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन सुरक्षित, विश्वसनीय र पारदर्शी अनलाइन मतदान प्रणालीमार्फत भोट हाल्ने व्यवस्था तत्काल मिलाइनुपर्ने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077