काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको अन्तिरिम सरकारले जेनजीका प्रतिनिधिहरुलाई नै मन्त्री बनाउने तयारी गरेको छ । हिजो बसेको जेनजीहरुको भेलाले मन्त्रीका लागि आठ जनाको नाम सिफारिस गरेको समाचार सार्वजनिक भएका छन् ।
तर, अझैसम्म निर्क्यौल भने भइसकेको छैन । जेनजीका प्रतिनिधिहरु नै ६ महिनाका लागि गठन भएको अन्तरिम सरकारको मन्त्री बन्ने तयारीमा रहेका बेला प्रधानमन्त्री कार्कीले भने राष्ट्रिय सभामा पनि जेनजीको प्रतिनिधित्व खोजेकी हुन् ।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग राष्ट्रिय सभामा जेनजीलाई प्रतिनिधित्व गराउने विषयमा चासो व्यक्त गरेकी हुन्। दाहालसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो चासो राखेकी हुन्।
प्रधानमन्त्री कार्कीसँगको भेटमा राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्वको विषयमा पनि छलफल भएको राष्ट्रिय सभाका अध्यक्ष दाहालले बताएका छन्।
राष्ट्रिय सभामा आगामी फागुन २१ गतेबाट १८ जना सदस्यको पदावधि सकिँदैछ। रिक्त पदमा निर्वाचन गराउने विषयमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग परामर्श गरेका हुन्। त्यसक्रममा कार्कीले जेनजीको प्रतिनिधित्वको विषयमा चासो राखेको अध्यक्ष दाहालले बताए।
‘छलफलमा जल्दोबल्दो शक्तिको रूपमा उदाएको जेनजीलाई पनि राष्ट्रियसभामा समावेश गर्ने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभयो,’ अध्यक्ष दाहालले भनेका छन्–‘राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्वाचन आयोगको कार्यतालिकामा प्रधानमन्त्री कार्की सहमत देखिनु भएको छ।’
‘फागुन २० गते राष्ट्रिय सभाका १८ सदस्यको पदावधि सकिन्छ। त्यसको लागि निर्वाचन गर्ने विषयमा छलफल भयो। दुईदिन अगाडि मैले निर्वाचन आयुक्तसँग पनि यस विषयमा छलफल गरेको थिएँ,’ दाहालले भने–‘निर्वाचन आयोगले माघ ११ गते निर्वाचन गर्ने भनेर डिसिजन गरिसकेको छ। उनीहरुले आफ्नो कार्यतालिकामा राष्ट्रिय सभाको निर्वाचनलाई पनि राखिसकेका छन्।’
सरकारसँग समन्वय गरेर अघि बढ्ने विषयमा प्रधानमन्त्री कार्कीसँग छलफल भएको उनले बताए। उनले भने–‘उहाँसँग जेनजीको प्रतिनिधित्व गर्ने सन्दर्भमा पनि कुरा भयो । जेनजीको पनि जल्दोबल्दो कुरा छ। अब भोट हाल्ने स्थानीय तहका प्रमुख र उपप्रमुख अनि प्रदेश सभाका माननीयहरूले हो। राजनीतिक सहमति गर्न सकियो भने हुन्छ भन्नेसम्मको सुझाव मैले दिएको छु। त्यसका लागि सरकारले राजनीतिक सहमती गर्नुपर्यो दलहरुसँग। किनभने भोटर नै चेन्ज गर्न त सकिँदैन।’
प्रधानमन्त्री कार्की राष्ट्रिय सभालाई छठपछि सञ्चालन गर्ने विषयमा सकारात्मक रहेको उनले बताए।
‘सिंहदरबारस्थित संसद सचिवालयको कृषि समितिको हललाई राष्ट्रिय सभाको बैठक कक्ष बनाउन सकिने प्रस्ताव मैले राखेको छु,’ उनले भने–‘त्यो तयारी अघि बढाउने विषयमा पनि मुख्य सचिवलाई प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ।’
अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसमक्ष सभाका उपाध्यक्ष विमला घिमिरेलाई निवासको उचित व्यवस्था गरिदिन पनि आग्रह गरेको बताए।
जेनजी आन्दोलनको क्रममा उपाध्यक्ष घिमिरेको सरकारी निवास पनि आगजनी भएको थियो।
अध्यक्ष दाहालले कानूनी रुपमा राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक, सांसदहरुले पाउँदै आएका सेवा, सुविधा कटौति नगर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।