काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ।
जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप लगाउँदै शाह र गुरुङविरुद्ध नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं जाहेरी दिएको हो।
नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाहले जाहेरी दिएका हुन्।
२४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गर्न उनीहरूले माग गरेका छन्।
यसअघि सुदन सहितका युवाहरुले आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायत विरुद्ध पनि जाहेरी दिएका थिए ।
त्यसको प्रतिशोध स्वरुप मंगलबार नेकपा एमालेनिकट भ्रातृ संगठन अखिलले पनि उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको थियो।
प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो । तर अखिलको जाहेरी दर्ता भएको छैन ।

