काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेरोजगारी र विभेदजस्ता दीर्घकालीन समस्याहरूलाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधारका ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
जेनजी आन्दोलनको एक महिना पूरा भएको अवसरमा प्रधानमन्त्री कार्कीले बिहीबार एक भिडियो सन्देश जारी गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा परी मृत्यु भएका तथा घाइते युवाहरूका परिवारका लागि विशेष राहत कार्यक्रम ल्याइएको र उनीहरूको दीर्घकालीन कल्याणका लागि अलग संयन्त्र गठनको तयारी भइरहेको जानकारी दिइन् ।
‘हाम्रा युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ,’ उनले भनिन्, ‘देशमा न्याय, पारदर्शिता र विधिको शासनको प्रत्याभूति दिलाउनु हाम्रो पहिलो दायित्व हो।’
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका मागहरूलाई लोकतान्त्रिक प्रणालीभित्र आत्मसात् गर्दै राजनीतिक रूपान्तरणको आधारका रूपमा स्वीकार गर्नुपर्ने बताइन्।
‘देशको सुशासन र समान अवसरका लागि युवापुस्ताले थालेको यो आन्दोलन नयाँ नेपालको बाटो हो,’ उनले जोड दिइन्, ‘हामी सबैले यो परिवर्तनको भावना आत्मसात् गर्नुपर्छ।’
प्रधानमन्त्रीको यो सन्देश जेनजी आन्दोलन सुरु भएको ठीक एक महिना पूरा भएको अवसरमा सार्वजनिक गरिएको हो।